सीमा विवादबारे दिएको अभिव्यक्तिको प्रधानमन्त्री शाहद्वारा बचाउ



चितवन, असार ७— प्रधानमन्त्री बालेन शाहले संसद्मा सीमा विवादका विषयमा आफूले दिएको अभिव्यक्तिको बचाउ गर्दै नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोज्न नचाहेको स्पष्ट पार्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालसँग आफ्नो भूभागका पर्याप्त प्रमाण रहेको र ती प्रमाणका आधारमा छिमेकी मुलुकसँग संवादमार्फत समस्या समाधान गरिने बताउनुभयो।

“हामीसँग प्रमाण छन्। हाम्रा प्रमाणहरू लिएर कुरा गर्छौं। हामीले मध्यस्थकर्ता गर्न खोजेको होइन,” उहाँले भन्नुभयो, “यदि कुनै प्रमाण खोज्न थप अध्ययन आवश्यक छ भने त्यसका लागि सम्बन्धित स्रोतसम्म पुग्नुपर्ने कुरा मात्र गरिएको हो।”

प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रियताप्रतिको प्रतिबद्धतामाथि शंका नगर्न आग्रह गर्दै भन्नुभयो, “मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन।” यसअघि असार १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा विवाद उत्पन्न भएको थियो। उक्त भनाइलाई लिएर विपक्षी दलका सांसदहरूले लगातार विरोध जनाउँदै आएका छन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने तथा विवादित भनाइ संसदीय अभिलेखबाट हटाउनुपर्ने माग राख्दै आएका छन्। यस विषयमा संसद्मा पटक–पटक विरोधसमेत हुँदै आएको छ।

महाधिवेशनमा प्रधानमन्त्री शाहले सीमा र राष्ट्रियतासम्बन्धी विषयमा सरकार स्पष्ट रहेको बताउँदै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूभाग भएको दाबी दोहोर्‍याउनुभयो। उहाँले नेपालले आफ्ना प्रमाणका आधारमा कूटनीतिक पहलमार्फत सीमा समस्या समाधान गर्ने नीति लिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्