रास्वपाको दुश्मन होइन, प्रमुख प्रतिस्पर्धी हो कांग्रेस : गगन थापा
चितवन,असार ७ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताएका छन्।
उनले नेपाली कांग्रेस रास्वपाको दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा स्वस्थ राजनीतिक प्रतिस्पर्धा आवश्यक रहेको बताए। रास्वपाले छोटो समयमै हासिल गरेको जनमत र राजनीतिक उचाइप्रति आफूलाई लोभ लागेको बताउँदै थापाले कांग्रेसलाई अझ बलियो र प्रभावशाली बनाउने लक्ष्य रहेको बताए।
उनले कांग्रेसले अरू दललाई कमजोर बनाएर नभई आफ्नै संगठन र कार्यशैली सुधार गरेर अघि बढ्न चाहेको स्पष्ट पारे। रास्वपाको उचाइ देखेर आफूहरू पनि अझ अग्लो बन्न चाहेको उल्लेख गर्दै उनले त्यो यात्रा इमानदार राजनीतिक अभ्यास र जनविश्वासको आधारमा पूरा गरिने बताए।
थापाले कांग्रेस सफा र सुदृढ बन्न चाहन्छ तर त्यसका लागि अन्य दललाई बदनाम गर्ने वा कमजोर पार्ने बाटो नअपनाउने बताए। बरु आफ्नै पार्टीभित्र रहेका कमजोरी, विकृति र दुर्गन्ध हटाएर सुधारको बाटोमा अघि बढ्ने उनको भनाइ थियो।
संसदमा प्रतिपक्षी र प्रतिस्पर्धी दलको भूमिकाबारे बोल्दै उनले सरकारका राम्रा काममा समर्थन र कमजोरीमा आलोचना दुवै गरिने स्पष्ट पारे। आवश्यक पर्दा प्रश्न उठाउने र खबरदारी गर्ने तथा राम्रो काम हुँदा प्रशंसा गर्ने कांग्रेसको नीति रहेको उनले बताए।
थापाले रास्वपाका नेता तथा कार्यकर्तालाई आफ्नै नेतृत्वमाथि पनि आवश्यकताअनुसार प्रश्न उठाउन र आलोचना गर्न नछाड्न आग्रह गरे।दलभित्र प्रश्न गर्ने, बहस गर्ने र नेतृत्वलाई जवाफदेही बनाउने संस्कार बलियो भए मात्र राजनीतिक दलहरू सुदृढ र जनउत्तरदायी बन्न सक्ने उनको भनाइ थियो।

