गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ सरकार : प्रधानमन्त्री शाह
चितवन, असार ७— प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्सप्रेस वे’मा गुडिरहेको गाडी जस्तै भएकाले निर्धारित गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारको गति र कार्यशैलीप्रति विभिन्न राजनीतिक दलबाट उठाइएका टिप्पणीको जवाफ दिँदै सरकार अनियन्त्रित नभई स्पष्ट लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो।
“हाम्रो सरकार ‘एक्सप्रेस वे’मा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन,” उहाँले भन्नुभयो। महाधिवेशनमा शुभकामना व्यक्त गर्ने क्रममा विभिन्न राजनीतिक दलका नेताहरूले दिएका सुझावलाई रास्वपाले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले वर्तमान जनमतको सम्मान गर्न सबैलाई आग्रह गर्नुभयो। रास्वपाको वैचारिक आधार विकासवाद रहेको उल्लेख गर्दै उहाँले पार्टी प्रतिशोध र द्वन्द्वको राजनीति भन्दा काममुखी राजनीतिमा विश्वास गर्ने बताउनुभयो।
“रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना विषयलाई लिएर निहुँ खोज्ने पार्टी होइन,” उहाँले भन्नुभयो। सरकारी सम्पत्ति तथा सार्वजनिक स्रोत–साधनको दुरुपयोगका घटनामा सरकार कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले सरकारले कानुन र विधिको सीमाभित्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूमि
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै ती क्षेत्र नेपालकै भएको पर्याप्त प्रमाण सरकारसँग रहेको बताउनुभयो। सीमा समस्याको समाधान नेपालले छिमेकी मुलुकसँग आपसी संवादमार्फत खोज्ने उल्लेख गर्दै उहाँले ब्रिटिसकालीन अभिलेख र प्रमाणहरूको सहयोग लिन खोजिएको स्पष्ट पार्नुभयो। राष्ट्रियताका विषयमा सरकारको प्रतिबद्धतामाथि कुनै शंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो।
पार्टीभित्र गुट–उपगुटलाई स्थान नदिने
रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले पार्टीभित्र गुट र उपगुट निर्माण गर्ने पुराना राजनीतिक संस्कृतिलाई स्थान नदिने बताउनुभयो। जनताको विश्वास र माया जितेर मात्रै असल नेता बन्न सकिने उल्लेख गर्दै उहाँले समूहगत राजनीति नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो।
“समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, नत्र भोलि त्यो रुख बनेर पार्टीलाई बीचबाट फाँड्न सक्छ,” उहाँले भन्नुभयो।रास्वपा नयाँ सोच र नयाँ राजनीतिक संस्कारका साथ अघि बढेको बताउँदै उहाँले वर्तमान कार्यकालमै सुकुम्बासी समस्या तथा सहकारी ठगीका विषय समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी निर्वाचनमा अहिलेका मुद्दा दोहोर्याएर होइन, नयाँ एजेण्डासहित जनतामाझ जाने योजना रहेको उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले अहिले रास्वपाको नेतृत्वमा सरकार रहेकाले मन्त्री, सांसद, पदाधिकारी, कार्यकर्ता र आम नागरिक सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताउँदै पार्टीलाई एकताबद्ध राख्न आग्रह गर्नुभयो। “आज, भोलि र पर्सी पार्टीका बारेमा सोचौँ, त्यसपछि पाँच वर्ष देशका बारेमा सोचौँ,” उहाँले भन्नुभयो।

