रास्वपाको जनमत टिकाउन लोकतान्त्रिक संस्था बलियो हुनुपर्छ : ज्ञवाली
चितवन, असार ७ — नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ज्ञवालीले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिका कारण गम्भीर प्रश्नहरू उठ्न थालेको बताए। उनले महाधिवेशनमार्फत ती प्रश्नहरूको जवाफ दिन रास्वपालाई आग्रह गरे।
नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील मुलुकले गलत निर्णयबाट उत्पन्न हुने दबाब थेग्न कठिन हुने उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार अत्यन्त सजग हुनुपर्नेमा जोड दिए।
“एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूराजनीतिक दबाब नेपालजस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यसैले तपाईंहरूको यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ,” उनले भने।
ज्ञवालीले लोकतन्त्र नियन्त्रण र सन्तुलनमा आधारित प्रणाली भएकाले न्यायालय, राष्ट्रपति, संसद् तथा आलोचनात्मक आवाजजस्ता संस्थाहरूलाई कमजोर बनाउने प्रयास जनमतका लागि दीर्घकालीन रूपमा घातक हुने बताए।
“यदि न्यायालय कमजोर भयो, राष्ट्रपति संस्था कमजोर भयो, संसद् कमजोर भयो, आलोचनाका स्वरहरू कमजोर भए र जनताका आलोचनालाई बेवास्ता गर्ने प्रवृत्तितर्फ अघि बढियो भने स्वाभाविक रूपमा त्यो जनमत सधैँ रहँदैन,” उनले चेतावनी दिए।
उनले रास्वपाको चुनावी प्रतिबद्धता र सरकारका प्रारम्भिक गतिविधिबीच केही असंगति देखिएको टिप्पणी गर्दै लोकतन्त्रलाई बलियो बनाउने वाचासँग नमेल खाने घटनाहरू अपवादका रूपमा सीमित रहून् भन्ने अपेक्षा व्यक्त गरे।
ज्ञवालीले लोकतान्त्रिक संस्थाप्रति सम्मान, आलोचनाप्रति ग्रहणशीलता तथा जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गरे।

