करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु



रुकुम पश्चिम,असार ८ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ निवासी सुन्दर भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ।

पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनी घाइते भएका थिए। घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार साथीहरूसँग माछा मार्ने क्रममा एक्कासि करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। भण्डारीसँग माछा मार्न गएका चार जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्