बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा
काठमाडौँ,असार ८ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।
नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो ।
आफूले लिएका हरेक निर्णयमा पहिलो स्थानमा देशलाई राखेको भन्दै उहाँले अब लेबर पार्टीको नेताको पदबाट राजीनामा दिएको भावुक सन्देश दिनुभयो ।
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ ।
सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।।

