रास्वपा महाधिवेशन: सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बुधबार मतदान



चितवन,असार ९ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सभापति पदका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।

उनले मंगलबार बन्दसत्र हलमा पुगेर सभापतिका लागि उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ। लामिछानेको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह रहेका छन्।

यसैबीच, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। मंगलबार साँझ पौने ७ बजे प्रकाशित कार्यतालिका अनुसार राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने राति ११:४५ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ। अन्तिम नामावली प्रकाशनपछि मौन अवधि सुरु हुनेछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बुधबार बिहान पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदको निर्वाचन हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टाभित्र पहिलो चरणको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

आयोगले दोस्रो चरणको उम्मेदवारी तथा अन्य निर्वाचनसम्बन्धी थप कार्यतालिका भने पछि प्रकाशन गरिने जनाएको छ।महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न रास्वपा अहिले निर्वाचन प्रक्रियामा केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्