११ जिल्लाका ८२ स्थानमा फैलियो बर्ड फ्लू, पाँच लाखभन्दा बढी पन्छी नष्ट



काठमाडौँ, असार ९ — चरा तथा पन्छीमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ नेपालका ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ। पशु सेवा विभागका अनुसार गत चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा पुष्टि भएको हो।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म बर्ड फ्लूबाट प्रभावित पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ। साथै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना पनि नष्ट गरिएको छ।

कोशी प्रदेशमा संक्रमण नियन्त्रणका लागि एक महिनासम्म पन्छीको ओसारपसारमा रोक लगाइएको थियो। रोग नियन्त्रणमा आएपछि उक्त प्रतिबन्ध खुकुलो बनाइएको विभागले जनाएको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयमार्फत उच्च सतर्कता अपनाउँदै अवैध रूपमा भित्र्याइएका शङ्कास्पद पन्छीहरू नष्ट गरिएको थियो।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा अझै बर्ड फ्लूको प्रकोप देखिएकाले विशेष निगरानी बढाइएको छ। रोग नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वयमा अभियान सञ्चालन गरिरहेको जनाएको छ। विभागले किसानलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

पुराना अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधनलाई निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन, कागलगायत जङ्गली पन्छीहरूलाई घरपालुवा पन्छीको दाना तथा बासस्थानमा पहुँच नदिन र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन विभागले सुझाव दिएको छ।

उपत्यकामा संक्रमण देखिएकाले थप सतर्कता अपनाउन विभागले सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्