मनसुनी प्रभाव बढ्दै, केही क्षेत्रमा वर्षा र चट्याङको सम्भावना
काठमाडौँ, असार १० । देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायु सक्रिय रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाएको छ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तातो लहरको प्रभाव देखिन सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ।
महाशाखाले चट्याङ, तातो लहर तथा तापक्रम वृद्धि हुने सम्भावना रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।

