स्वास्थ्य बिमा बोर्डद्वारा ३६४ स्वास्थ्य संस्थालाई दुई अर्ब भुक्तानी
काठमाडौँ, असार १० । स्वास्थ्य बिमा बोर्डले देशभरका ३६४ अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयबाट बजेट निकासा भएपछि बोर्डले उक्त रकम वितरण गरेको हो।
बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार प्राप्त बजेटलाई पारदर्शी, न्यायोचित र समानुपातिक रूपमा वितरण गरिएको छ। उहाँले प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरूलाई रकम उपलब्ध गराइएको र यसबाट स्वास्थ्य सेवा प्रवाहमा परेको आर्थिक दबाब केही हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन बाँकी दाबी रकम व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। लामो समयदेखि दाबी रकम भुक्तानी नहुँदा सरकारी, सामुदायिक तथा निजी अस्पतालहरू आर्थिक समस्यामा परेका थिए। केही स्वास्थ्य संस्थाले भुक्तानी नपाए बिमा सेवा बन्द गर्न सक्ने चेतावनीसमेत दिएका थिए।
यसैबीच, निजी मेडिकल कलेजहरूको छाता संगठनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले बाँकी दाबी रकम पनि यथाशीघ्र उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ। उहाँले भुक्तानीमा ढिलाइ हुँदा निजी स्वास्थ्य संस्था गम्भीर आर्थिक सङ्कटमा परेको र औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समयमै रकम तिर्न समस्या भएको बताउनुभयो।

