फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १९ वर्षीय युवकको मृत्यु



काठमाडौं,असार १० । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १९ वर्षीय युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी अमर थापा रहेका छन्। उनी पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए।

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, पोखराबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो। मङ्गलवार राति करिब ८ बजे सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायका जनशक्ति उद्धार तथा खोजी कार्यमा खटिएका थिए।

सुरक्षा टोलीले करिब डेढ घण्टापछि थापालाई तालबाट फेला पारेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्