माइतीघरमा दृष्टिविहीन व्यवसायीको धर्ना, माग सम्बोधन नभए रिले अनशन गर्ने चेतावनी



काठमाडौं,असार १० । काठमाडौँको माइतीघर मण्डलामा सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहले बुधबार धर्ना दिएको छ। आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्।

प्रदर्शनमा सहभागी दीपराजले राज्यले आफूहरूलाई पछाडि पारेको मात्र नभई हातमा भएको सीपसमेत प्रयोग गर्न नदिएको आरोप लगाए। उनका अनुसार दृष्टिविहीनहरूको प्रमुख आयस्रोत सांगीतिक कार्यक्रम भए पनि विभिन्न निकायबाट कार्यक्रम सञ्चालनमा अवरोध र धरपकड हुने गरेको छ।

उनले पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष तथा जनपथ प्रहरीले सांस्कृतिक कार्यक्रम गर्दा कुटपिट र दुर्व्यवहार गर्ने गरेको आरोप लगाए। दृष्टिविहीनहरूका लागि अन्तिम विकल्प अरूको सहयोग लिनु भए पनि सरकारले त्यसमा समेत रोक लगाउने प्रयास गरेको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूको समस्याप्रति ध्यान दिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको उनले बताए। सरकारले माग पूरा गर्ने आश्वासन मात्र दिने तर कार्यान्वयन नगर्ने गरेको आरोप पनि उनले लगाए।

प्रदर्शनकारीहरूले गाँस, बास र कपासको सुनिश्चितता, शिक्षित दृष्टिविहीनलाई रोजगारीको व्यवस्था, अशिक्षितलाई जीवनयापन भत्ता तथा दृष्टिविहीनसहित पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले सात दिनसम्म माइतीघरमा धर्ना जारी राख्ने र त्यस अवधिमा माग सम्बोधन नभए रिले अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्