फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, एक सैनिकको मृत्यु
कैलाली,असार ११ । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर घाइते भएका एक सैनिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकमा कार्यरत हुड्डा हिमालविक्रम विष्टको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मोहन्याल गाउँपालिका–७ मा रहेको जालपा सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान ९ः४५ बजे फायरिङ अभ्यास भइरहेका बेला ग्रिनेडको छर्रा लागेर विष्ट घाइते भएका थिए। उनको दाहिने हातको हत्केला तथा शरीरका अन्य भागमा चोट लागेको थियो।
घाइते विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा सह–सेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरमा समेत ग्रिनेडको छर्रा लागेको जनाइएको छ। जोशीको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो।

