रास्वपाको मतगणनामा ढिलाइ, प्रवासी मत जोडिएपछि मात्र अन्तिम नतिजा
चितवन,असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन सम्पन्न भए पनि अन्तिम मतपरिणाम अझै सार्वजनिक भएको छैन। विद्युतीय मतदान सम्पन्न भइसके पनि प्रवासबाट प्राप्त मत समावेश गरी अन्तिम परिणाम प्रमाणीकरण गर्ने प्रक्रिया जारी रहेकाले बिहीबार मध्यरातसम्म नतिजा घोषणा हुन नसकेको हो।
निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार विद्युतीय मतदानबाट प्राप्त मत सार्वजनिक गरिए पनि विदेशबाट अनलाइन माध्यमबाट आएको मत अझै समावेश गरिएको छैन। विद्युतीय प्रणाली र अनलाइनमार्फत प्राप्त मतलाई एकीकृत गरी प्रमाणीकरणपछि मात्रै अन्तिम परिणाम सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो।
प्रविधिमैत्री मतदान प्रणालीको मूल्याङ्कन र प्रमाणीकरणका कारण परिणाम सार्वजनिक गर्न केही समय लागेको उहाँको भनाइ छ।रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित हुने व्यवस्था छ। सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले प्रतिनिधित्व हुने गरी खुला तथा महिला, जनजाति, आदिवासी, मधेसी, दलितलगायत समावेशी समूहबाट सदस्य चयन गरिनेछ। खुलातर्फको सिट निर्धारण भने २०७८ सालको जनगणनाका आधारमा गरिएको आयोगले जनाएको छ।
केन्द्रीय सदस्य पदका लागि ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पार्टीका प्रवक्ता मनिष झाका अनुसार कुल तीन हजार ८५९ मतदातामध्ये दुई हजार ९५९ जनाले मतदान गरेका छन्, जुन ७६ दशमलव ८० प्रतिशत हो। विदेशमा रहेका थप १६३ मतदाताका लागि अनलाइन एपमार्फत मतदानको व्यवस्था गरिएको थियो। विदेशबाट कति मत खस्यो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
बुधबार मध्यरातदेखि सुरु भएको मतदान बिहीबार सम्पन्न भएको थियो। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट छ जना पदाधिकारी प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिनेछन् भने बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्ने व्यवस्था छ।यसअघि सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उहाँ सर्वसम्मत चयन हुने निश्चित भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ। संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ, जसमा १९ जना पदाधिकारी, सात प्रदेश सभापति पदेन सदस्य रहनेछन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ।
पहिलो चरणको मतपरिणाम सार्वजनिक हुन ढिलाइ भएकाले पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया पनि अझै सुरु हुन सकेको छैन। निर्वाचन आयोगले प्राविधिक परीक्षण र मत प्रमाणीकरण सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।

