देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो हावाको चेतावनी



काठमाडौँ, असार १२ — हाल देशका कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा पनि यसको प्रभाव देखिएको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशको तराई, मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने अनुमान गरिएका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित ध्यान दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्