काठमाडौँ उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको जोखिम, नियन्त्रणका लागि निगरानी कडा



काठमाडौँ, असार १२ — पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रण तथा निगरानीको काम तीव्र बनाएको छ।विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गर्दै सङ्क्रमण नियन्त्रणका उपायलाई प्रभावकारी बनाएको जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा सङ्क्रमणको जोखिम उच्च देखिएकाले रोग नियन्त्रणलाई विशेष प्राथमिकतामा राखिएको छ। उहाँले करिब तीन महिनाअघि सुरु भएको सङ्क्रमण हालसम्म ११ जिल्लामा फैलिसकेको जानकारी दिनुभयो।

हालसम्म करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि ती फार्मका पन्छी, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ।साथै, प्रभावित फार्ममा करिब डेढ महिनासम्म नयाँ चल्ला नराख्न आग्रह गर्दै उच्च सतर्कता अपनाउन व्यवसायीलाई अनुरोध गरिएको छ।काठमाडौँ उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायकलगायत क्षेत्रमा पनि बर्डफ्लु सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ।

विभागका अनुसार बर्डफ्लुको प्रभावकारी उपचार र खोप उपलब्ध नभएकाले सङ्क्रमित पन्छी नष्ट गर्नु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो। यो भाइरस मानिसमा पनि सर्न सक्ने सम्भावना रहेकाले पन्छी व्यवसायी तथा उपभोक्ताले थप सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

बर्डफ्लु नियन्त्रणका लागि विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रस्तरीय समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ। विभागका सूचना अधिकारी मुकुल उपाध्यायका अनुसार नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा निर्धारण गरिएको दररेटअनुसार किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्