नुवाकोट पञ्चकन्यामा आन्तरिक रोजगार र उद्यमशीलता प्रवर्द्धनबारे संवाद सम्पन्न
नुवाकोट,असार १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा आन्तरिक रोजगार प्रवर्द्धन, सीप विकास, उद्यमशीलता र आर्थिक विकासलाई केन्द्रमा राखेर आयोजित संवाद कार्यक्रम सम्पन्न भएको छ। पञ्चकन्या गाउँपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय स्रोत, सीप र अवसरको अधिकतम उपयोग गर्दै आत्मनिर्भर र समृद्ध गाउँपालिका निर्माणका उपायबारे व्यापक छलफल गरिएको हो।
गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन बुद्धचित्तको बिरुवा रोपेर गरिएको थियो। बिरुवा रोपणमार्फत हरित विकास, आत्मनिर्भरता र समृद्धिको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, नेपाल सरकारका शाखा अधिकृत तथा पञ्चकन्या गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, सामाजिक सुरक्षा कोषका वित्त अधिकृत शान्ता थापा, रुडेक नेपाल (RUDEC Nepal) का मिनकुमार केसी तथा कोशिश नेपालकी सपना सुवेदीले आन्तरिक रोजगार, सीप विकास, उद्यमशीलता, सामाजिक सुरक्षा र आर्थिक विकासका विविध विषयमा सहजीकरण गर्नुभएको थियो।
वडा अध्यक्ष रामशरण श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक विकासका सम्भावनाबारे धारणा राख्नुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार नागरिक, शाखा प्रमुख, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय स्रोत, सीप र अवसरको प्रभावकारी परिचालनमार्फत आन्तरिक रोजगारी बढाउने, उद्यमशीलता विकास गर्ने तथा समृद्ध पञ्चकन्या निर्माण गर्ने साझा प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

