काभ्रेपलाञ्चोकका थप तीन लेयर्स कुखुरा फर्ममा बर्ड फ्लु पुष्टि



काभ्रेपलान्चोक,असार १३ । काभ्रेपलाञ्चोक जिल्लाका थप तीन वटा लेयर्स कुखुरा फर्ममा बर्ड फ्लु पुष्टि भएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिकाको एक तथा पनौती नगरपालिकाका दुई वटा फर्ममा पालिएका लेयर्स कुखुरामा संक्रमण देखिएको हो।

पशु सेवा कार्यालयका प्रमुख डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ स्थित नारायण दाहालको लेयर्स कुखुरा फर्म, पनौती नगरपालिका–८ स्थित राजकुमार तिमल्सिनाको समृद्धि कुखुरा फर्म र पनौती–९ स्थित सनोज बस्नेतको फर्ममा बिहीबार बर्ड फ्लु पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि बनेपा–६ स्थित दाहालको फर्ममा रहेका सात हजार कुखुरा शुक्रबार नष्ट (डिस्पोज) गरिएको छ। यस्तै पनौती–८ र ९ का संक्रमित फर्ममा रहेका कुखुरा शनिबार बिहानदेखि नष्ट गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ। ती फर्ममध्ये तिमल्सिनाको फर्ममा करिब आठ हजार पाँच सय र बस्नेतको फर्ममा १२ हजार तीन सय कुखुरा रहेका छन्।

यता संक्रमित फर्ममा मरेका कुखुरा समयमै नष्ट नगर्दा आसपास क्षेत्रमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले पशु सेवा विभाग र पशु सेवा कार्यालयले ढिलाइ गरेको गुनासो गरेका छन्।

यसअघि बुधबार बनेपा नगरपालिका–१३ स्थित बद्री खत्रीको लेयर्स फर्म तथा पनौती नगरपालिका–७ स्थित शर्मिला श्रेष्ठको फर्ममा रहेका कुखुरा र हाँसमा पनि बर्ड फ्लु पुष्टि भएको थियो। जिल्लामा पछिल्ला दिनहरूमा बर्ड फ्लुको संक्रमण फैलिँदै गएपछि सम्बन्धित निकायले निगरानी र नियन्त्रणका गतिविधि तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्