अपेक्षाभन्दा कम वर्षा, मनसुन कमजोर हुँदा कृषि र जलस्रोतमा असर पर्ने चिन्ता
काठमाडौं,असार १३। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा यस वर्षको मनसुनी वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ।
जल तथा मौसम विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत २१४ मिलिमिटर वर्षाको ६९.६ प्रतिशत मात्र हो। विभागको तथ्याङ्कअनुसार यस अवधिमा हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा भएको छ।
विभागका अनुसार महिनाको सुरुवाती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन।
मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिलो प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रिय रहेकाले वर्षा कम भएको हो। उहाँले कमजोर मनसुनका कारण धान रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने बताउनुभयो।
हालसम्म मनसुन देशभर पूर्ण रूपमा विस्तार हुन नसकेको विभागले जनाएको छ। मौसमविद् ढकालका अनुसार पाँच प्रदेशका केही भूभागमा मात्र मनसुनी प्रणाली सक्रिय रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन अझै केही दिन लाग्न सक्छ।
विभागले यस वर्षको मनसुन अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने तथा तापक्रम सामान्यभन्दा बढी रहने प्रक्षेपण गरेको छ। मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुनमा देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।

