वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन पक्राउ
काठमाडौं,असार १४ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार पक्राउ पर्नेमा बाराका गगनबहादुर स्याङ्त, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरी रहेका छन्।
प्रहरीका अनुसार गगनबहादुरले माल्दिभ्स पठाइदिने भन्दै चार जनाबाट चार लाख ३० हजार रुपैयाँ, निर्जलले मलेसिया पठाइदिने भन्दै एक जनाबाट तीन लाख ९० हजार रुपैयाँ तथा बलबहादुरले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको पाइएको छ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका गगनबहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने निर्जल र बलबहादुरलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ
यसैबीच, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलामको देउमाई नगरपालिका–२ का कृष्णकुमार राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत इलामबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँ–१४ बल्खुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको प्रहरीले जनाएको छ।

