नुवाकोट आएका गगन थापा भन्छन्—’नुवाकोटको छोरी राम्रो, तर बाटो नराम्रो’
नुवाकोट,असार १४ । नुवाकोट भ्रमणका क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको एउटा हल्का ठट्टाले शनिबारको राजनीतिक भेटघाटलाई केहीबेर रमाइलो बनायो। स्थानीय नेता–कार्यकर्तासँगको औपचारिक छलफलबीच उनले आफ्ना ससुरा जगदीश्वर नरसिंह केसीसंग गरेको टिप्पणीले उपस्थित सबैलाई हाँस्न बाध्य बनाएको हो।
बेलकोटगढी नगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुग्ने क्रममा थापाले हाँस्दै भने, “नुवाकोटको छोरी राम्रो, तर बाटो नराम्रो।” उनको यो अभिव्यक्ति सुन्नासाथ कार्यक्रममा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकहरूबीच हाँसोको फोहोरा छुट्यो। उक्त क्षणको भिडियो अहिले सामाजिक सञ्जालमा पनि व्यापक रूपमा साझा भइरहेको छ।
थापाको यो भनाइ केवल ठट्टामा सीमित थिएन। केहीले ठट्टाले यथार्थतालाई उजागर गरेको टिप्पणी गरेका छन् भने केहीले नुवाकोटसँग उनको पारिवारिक सम्बन्धलाई पनि झल्काएको बताएका छन् । उनले नुवाकोटकै चेली तथा जगदीश्वर नरसिंह केसीकी भतिजी अञ्जना थापासँग प्रेम विवाह गरेका हुन्। त्यसैले उनको टिप्पणीलाई उपस्थितहरूले आत्मीय हास्यका रूपमा ग्रहण गरेका थिए।
नेपाली कांग्रेस बेलकोटगढीका अनुसार सभापति थापा स्थानीय संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित नेता–कार्यकर्तासँग भेटघाट र संगठनात्मक छलफलका लागि नुवाकोट पुगेका हुन्। राजनीतिक कार्यक्रमबीचको यो हल्का संवादले भने औपचारिक वातावरणलाई केहीबेर सहज र रमाइलो बनायो।
जगदीश्वर नरसिंह केसी यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका अचुतम लामिछानेसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित भएका थिए। यस्तै, उनका दाजु तथा गगन थापाका शाख्य ससुरा अर्जुन नरसिंह केसी भने नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन्।
राजनीतिक भाषण र संगठनात्मक छलफलबीच कहिलेकाहीँ यस्ता आत्मीय ठट्टाले पनि नेताहरूको मानवीय पक्ष उजागर गर्ने गर्छ।नुवाकोटमा गगन थापाको यो छोटो टिप्पणी त्यसैको एउटा उदाहरण बनेको छ।

