हाइब्रिड बिउको बढ्दो प्रयोगले रैथाने बिउ सङ्कटमा
काठमाडौं,असार १४ । नेपालमा हाइब्रिड (वर्णशङ्कर) तथा आयातित बिउको प्रयोग बढ्दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व सङ्कटमा परेको छ। कृषिविज्ञका अनुसार नीतिगत कमजोरी, सहरीकरण, बसाइँसराइ, जलवायु परिवर्तन र आधुनिक कृषि प्रविधिको विस्तारले रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएका छन्।
हाइब्रिड बिउले बढी उत्पादन र छिटो आम्दानी दिने भए पनि प्रत्येक वर्ष नयाँ बिउ किन्नुपर्ने, रासायनिक मल तथा सिँचाइमा बढी लगानी गर्नुपर्ने र बजारमा निर्भर हुनुपर्ने चुनौती रहेको विज्ञहरूको भनाइ छ। उता रैथाने बिउ स्थानीय वातावरणअनुकूल, कम लागत र पोषणयुक्त भए पनि उत्पादन कम हुने भएकाले यसको प्रयोग घट्दै गएको छ।
विज्ञहरूले रैथाने बिउ संरक्षण नगरे खाद्य संस्कृति र जैविक विविधतामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

