पूर्वानुमानकै भरमा कर्मचारीले राजीनामा दिन थाले
काठमाडौं, असार १४ — प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरमा अवकाश सम्बन्धी व्यवस्था हुन सक्ने चर्चापछि निजामती कर्मचारीले पूर्वानुमानकै भरमा राजीनामा दिन थालेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार ऐन अझै बनेको छैन र बाहिर फैलिएको चर्चाका आधारमा केही कर्मचारीले राजीनामा दिएका हुन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार असार लागेयता ८९ जना कर्मचारीले राजीनामा दिएर पेन्सन प्रक्रिया थालेका छन् भने सोही अवधिमा ७१ जना मात्रै अनिवार्य अवकाशमा गएका छन्।
प्रशासनिक वृत्तले प्रस्तावित व्यवस्थाका कारण भविष्यमा पेन्सन घट्न सक्ने आशंकाले कर्मचारीले समयअघि नै अवकाश रोज्न थालेको हुन सक्ने जनाएको छ। हाल ३० वर्षभन्दा बढी सेवा वा ५५ वर्ष उमेर पुगेका निजामती कर्मचारीको संख्या १२ हजारभन्दा बढी रहेको छ।

