वैचारिक स्पष्टतासँगै नीति कार्यान्वयनमा जोड
काठमाडौं, असार १४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै राजनीतिक, साङ्गठनिक र आर्थिक नीति पारित गर्दै पार्टीको वैचारिक तथा साङ्गठनिक स्पष्टता स्थापित गरेको निष्कर्ष निकालिएको छ।
राजनीतिशास्त्री मीना वैद्य मल्ल र विश्लेषक विजयकान्त कर्णले महाधिवेशनले पार्टीलाई संस्थागत, परिणाममुखी र सुशासनमुखी दिशामा अघि बढाउने आधार तयार गरेको उल्लेख गर्दै अब पारित नीतिको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती भएको बताएका छन्।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनले पार्टीको दीर्घकालीन कार्यदिशा स्पष्ट गरेको बताउँदै व्यक्तिवादभन्दा विधि, पद्धति र संस्थागत संस्कारमा आधारित राजनीति अघि बढाइने बताए।
विश्लेषकहरूले लोकतान्त्रिक अभ्यास, सङ्घीयताको सुदृढीकरण, पारदर्शिता, सुशासन र निजी क्षेत्रमैत्री नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्रै जनविश्वास कायम रहने धारणा व्यक्त गरेका छन्।

