मेस्सी चम्किए, अर्जेन्टिना शतप्रतिशत नतिजासहित समूह विजेता
एजेन्सी,असार १४ । साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत नतिजासहित फिफा विश्वकप–२०२६ को समूह ‘जे’ को विजेता बनेको छ। अमेरिकाको डालासमा आइतबार बिहान भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीले आकर्षक फ्रिकिक गोल गर्दै टोलीको जित पक्का गरेका हुन्।
अर्जेन्टिनाका लागि जिओभानी लो सेल्सोले १९औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै खाता खोले भने ३१औँ मिनेटमा लौटारो मार्टिनेजले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए। जोर्डनका माउसा अल टमारीले ५५औँ मिनेटमा एक गोल फर्काए पनि ८०औँ मिनेटमा मेस्सीले बक्स बाहिरबाट शानदार फ्रिकिक गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।
जारी विश्वकपमा तीनै खेलमा गोल गरेका मेस्सी ६ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्। विश्वकपमा उनको कुल गोल संख्या १९ पुगेको छ।
तीन खेलबाट ९ अङ्क जोडेको अर्जेन्टिनाले अन्तिम ३२ मा पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ।समूहको अर्को खेलमा अष्ट्रिया र अल्जेरियाले ३–३ को बराबरी खेलेपछि अष्ट्रिया उपविजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुगेका छन्। अष्ट्रियाले स्पेन र अल्जेरियाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् भने जोर्डन अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

