पिकअप दुर्घटनामा चालकको मृत्यु
मकवानपुर,असार १४ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आइतबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च. ५५९९ नम्बरको खाली योद्धा पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ स्थायी घर भई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल बसोवास गर्दै आएका ४५ वर्षीय चालक मुकुन्द झ्यारी मगरलाई उद्धार गरी पाटन अस्पताल, ललितपुर लगिएको थियो। उपचारका क्रममा बिहान ८:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
मृतकको शव पाटन अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

