मनसुन सक्रिय, असार १६–१७ मा मुसलधारे वर्षाको चेतावनी



काठमाडौं, असार १४ — देशभर मनसुन क्रमशः सक्रिय बन्दै गएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा मुसलधारे वर्षा हुने चेतावनी दिएको छ।

महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनमा मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै, देशका पहाडी तथा तराईका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि विस्तार हुने सम्भावना रहेको छ।

सम्भावित भारी वर्षासँगै भूक्षय, बाढी, पहिरो, गेग्र्यान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबान र ठूलासाना नदी–खोलामा पानीको सतह बढ्ने जोखिम रहेको महाशाखाले जनाएको छ। यसलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्