आज धान दिवस : वर्षा अभावले रोपाइँ सुस्त, अर्बौँको धान–चामल आयात जारी
काठमाडौं,असार १५ । आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित मनाइँदै छ। तर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ अपेक्षाकृत सुस्त बनेको छ।
कृषि विभागका अनुसार हालसम्म देशभर ११.३३ प्रतिशत अर्थात् एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा १५.६ प्रतिशत रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत रोपाइँ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम पाँच प्रतिशत मात्र रोपाइँ भएको छ।
वर्षा अभावका कारण विशेषगरी तराईका जिल्लामा रोपाइँ प्रभावित भएको छ। बर्दियालगायतका क्षेत्रमा रोपिएका खेतसमेत सुक्न थालेका छन् भने धेरै स्थानमा अझै रोपाइँ सुरु हुन सकेको छैन।
यता, चालु आर्थिक वर्षको ११ महिनामा नेपालले ३७ अर्ब ८४ करोड रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ। वार्षिक आवश्यकता अनुसार स्वदेशी उत्पादन पर्याप्त नहुँदा नेपालले हरेक वर्ष ठूलो परिमाणमा धान–चामल आयात गर्दै आएको छ।

