राष्ट्रियसभामा सुकुम्बासीदेखि किसानका समस्या उठे, सरकारको ध्यानाकर्षण
काठमाडौं,असार १५ राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी, कृषि, शिक्षा, खानेपानी, सीमावर्ती नाका र किसानका समस्यालगायत समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद जगत तिमिल्सिनाले संविधान र बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई राजनीतिक दलको सदस्यता दिन निषेध गरेको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो।
राष्ट्रिय धान दिवसको सन्दर्भ उल्लेख गर्दै सांसद मीना सिंह रखालले किसानलाई पानी, मल र गुणस्तरीय बीउको अभाव हुन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो। सांसद रञ्जित कर्णले सप्तरीको राजविराजमा लालपुर्जा माग गर्दै आन्दोलनरत किसानका समस्या समाधान गर्न आग्रह गर्नुभयो।
सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालित सेतो नम्बर प्लेटको सवारीमा रातो नम्बर प्लेट प्रयोग गरी राज्य स्रोतको दुरुपयोग भएको भन्दै छानबिनको माग गर्नुभयो। सांसद रोशनी मेचेले पनि दलको सदस्य हुन १८ वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था कडाइका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।यसैगरी सांसद वासुदेव घिमिरेले हालै सम्पन्न कक्षा १२ को परीक्षामा देखिएका त्रुटिप्रति असन्तुष्टि जनाउनुभयो। सांसद सम्झना देवकोटाले गोरखाको हिमाली क्षेत्रमा रहेका दुवै सीमा नाका बन्द हुँदा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गर्दै कम्तीमा पर्यटकीय पदमार्ग सञ्चालनका लागि भए पनि नाका खोल्न माग गर्नुभयो।
सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यातमा अवरोध पुगेको भन्दै डीएनए परीक्षणसम्बन्धी निर्णय तत्काल फिर्ता लिन र किसानको हित हुने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।

