नुवाकोट जिल्लामा आयो २४सै घण्टा सञ्चालन हुने ‘विपद् कल सेन्टर’
नुवाकोट, असार १५ — वर्षायामसँगै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा २४सै घण्टा सञ्चालन हुने ‘विपद् कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गतको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) मार्फत सञ्चालन गरिएको उक्त कल सेन्टरबाट विपद्सम्बन्धी सूचना आदान–प्रदान, उद्धार, राहत तथा समन्वयका लागि नागरिकले जुनसुकै समयमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार विपद्को अवस्थामा तत्काल सहयोग आवश्यक परे हटलाइन नम्बर ११४९ तथा सम्पर्क नम्बर ०१०–५६१९३३ मा फोन गर्न सकिनेछ। साथै [email protected] मार्फत पनि सूचना तथा जानकारी उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
यसैगरी, सुरक्षा निकायका आपतकालीन सेवाका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा पनि सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बाढी, पहिरो, डुबानलगायत विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, अफवाहमा विश्वास नगर्न तथा कुनै पनि आपतकालीन घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आग्रह गरेको छ।

