१९ सय मिटर उचाइमा रहेको नुवाकोटको किस्पाङमा रोपियो रातो मार्शी धान, परम्परागत बाली संरक्षणमा जोड



नुवाकोट, असार १५ – हिमाली भेगको हावापानीसँग अनुकूल मानिने परम्परागत रातो मार्शी धानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटको किस्पाङ गाउँपालिकाले १९ सय मिटर उचाइमा रहेको साल्मेमा सामूहिक धान रोपाइँ सम्पन्न गरेको छ।

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा गाउँपालिकाको वडा नम्बर–४ साल्मेमा रातो मार्शी धान रोपिएको हो। उच्च पहाडी क्षेत्रमा उत्पादन हुने यस धानलाई स्थानीय खाद्य संस्कृतिसँगै पोषण र जैविक विविधताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

किस्पाङ गाउँपालिकाको आयोजनामा, वडा नम्बर–४ कार्यालयको सह–आयोजना तथा संगम कृषक समूहको संयोजनमा सम्पन्न कार्यक्रममा किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो। सामूहिक रूपमा खेतमा उत्रिएका किसानहरूले परम्परागत खेती प्रणालीलाई निरन्तरता दिँदै धान रोपेका थिए।

कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडा नम्बर–४ का अध्यक्ष विनोद तामाङ, कृषि शाखाका कर्मचारी तथा स्थानीय किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गाउँपालिकाले स्थानीय जातका बालीको संरक्षण, कृषिप्रति युवाको आकर्षण बढाउने तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने धानको पहिचान जोगाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

उच्च उचाइमा उत्पादन हुने रातो मार्शी धान स्वाद, पोषण र स्थानीय वातावरणसँग अनुकूल भएकाले यसको उत्पादन विस्तारले स्थानीय खाद्य सुरक्षाका साथै किसानको आम्दानी वृद्धि गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्