सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी प्रतियोगिता सुरु, पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा
ललितपुर, असार १५ — सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३’ सोमबारदेखि ललितपुरस्थित च्यासल रंगशालामा सुरु भएको छ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पुरुष र महिला दुवैतर्फका प्रतिस्पर्धा सम्पन्न भएका छन्।
महिलातर्फ बागमती प्रदेश र कोशी प्रदेशले फाइनलमा स्थान सुरक्षित गरेका छन्। बागमतीले लुम्बिनीलाई ३२–० र कोशीलाई २२–० ले पराजित गर्दै गण्डकीबाट वाकओभर समेत पाएको थियो। यता कोशीले गण्डकीलाई ३५–० ले हरायो भने लुम्बिनीले गण्डकीलाई १०–० ले पराजित गर्यो। यससँगै गण्डकी र लुम्बिनी प्रतियोगिताबाट बाहिरिएका छन्।
पुरुषतर्फ पहिलो दिनमै सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार हुने पहिलो सेमिफाइनलमा कर्णाली प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र कोशी प्रदेश आमनेसामने हुनेछन्। गण्डकी प्रदेश भने समूह चरणबाटै बाहिरिएको छ।
कर्णालीले पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गर्दै बागमतीलाई २६–७ र गण्डकीलाई ३४–७ ले पराजित गर्दै लगातार दुई जित दर्ता गर्यो। यस्तै कोशीले मधेसलाई १५–० ले हराउँदा बागमतीले गण्डकीलाई १४–५ ले पराजित गर्यो।
प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ चार टोलीको सहभागिता रहेको छ। दुवैतर्फको फाइनल खेल मंगलबार नै हुनेछ।
सहिद स्मृति स्पोर्ट्स एकेडेमीका अध्यक्ष रन्जित तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले मुख्य रेफ्री प्रेमबहादुर कोइरालालाई रग्बी बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरिन्।
नेपाल रग्बी संघका प्रबन्धक विराज काफ्लेका अनुसार यस प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा आगामी नोभेम्बरमा भारतमा आयोजना हुने यू–२० एसियन रग्बी च्याम्पियनसिपका लागि नेपाली टोलीको छनोट गरिनेछ। बागमती रग्बी खेल संघका सचिव अनन्त प्रकाश श्रेष्ठ संयोजक रहेको प्रतियोगिताको स्वास्थ्य साझेदार भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको छ।

