पाराग्वेको सनसनीपूर्ण जित, जर्मनी विश्वकपबाट बाहिरियो
एजेन्सी,असार १६ । चार पटकको विश्वकप विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ बाटै बाहिरिएको छ। बोस्टन स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि पाराग्वेले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
विश्वकप २०२६ मा पेनाल्टी सुटआउटसम्म पुगेको यो पहिलो खेल थियो। खेलको ४२औँ मिनेटमा मिगुएल गालार्साको पासमा जुलियो एन्सिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए।
तर दोस्रो हाफको ५४औँ मिनेटमा फ्लोरियन भिर्ट्जको उत्कृष्ट पासलाई काइ हाभर्ट्जले सदुपयोग गर्दै जर्मनीलाई १–१ को बराबरीमा फर्काए। त्यसपछि निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टी सुटआउटमा जर्मनीका काइ हाभर्ट्ज र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले उत्कृष्ट रूपमा बचाए।पाराग्वेले पनि अवसर गुमायो। एन्टोनियो सानाब्रियाको प्रहार बाहिरिएको थियो भने फाबियन बाल्बुएनाको प्रहार ४० वर्षीय जर्मन गोलरक्षक मानुएल नोएरले रोके।
निर्णायक सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेका डिफेन्डर होसे क्यानालेले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ऐतिहासिक ४–३ को जित दिलाए।
यससँगै पाराग्वेले सनसनीपूर्ण जितसहित विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ भने जर्मनीको उपाधि यात्रा अप्रत्याशित रूपमा अन्त्य भएको छ। सन् २०१४ को विश्वकपपछि पहिलो पटक नकआउट चरण पुगेको जर्मनी यसपटक अन्तिम ३२ बाटै बाहिरिन पुगेको हो।

