त्रिशूली अस्पतालमा उत्कृष्ट कर्मचारी र विभाग सम्मानित



विदुर, असार १६ – नुवाकोटको त्रिशूली अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ त्रैमासिक कार्य समीक्षा तथा उत्कृष्ट कर्मचारी र विभाग सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

अस्पतालमा आयोजित कार्यक्रममा त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा इमर्जेन्सी विभागलाई ‘उत्कृष्ट विभाग’ घोषणा गर्दै सम्मान गरिएको हो। त्यसैगरी उत्कृष्ट कर्मचारीका रूपमा एनेस्थेसियोलोजिस्ट डा. सुजन केसी, कम्प्युटर अपरेटर विनिता अधिकारी र कार्यालय सहयोगी प्रेममाया तामाङ सम्मानित भएका छन्।

अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले अस्पतालको सेवा सञ्चालन, वर्तमान अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउँदै सेवा व्यवस्थापनलाई अझ चुस्त र गुणस्तरीय बनाउन यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको बताए।

कार्यक्रममा चैत, वैशाख र जेठ महिनाको मासिक तथ्याङ्क सङ्कलन, डाटा प्रमाणीकरण, प्रस्तुतीकरण तथा ई–वार्स अभिमुखीकरणसमेत सञ्चालन गरिएको थियो। विभिन्न विभागका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो विभागको सेवा, उपलब्धि र चुनौतीबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

सम्मान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, सदस्य अञ्जली पाण्डे तथा विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थले सम्मानपत्र प्रदान गरेका थिए।

प्रमुख अतिथि वडाध्यक्ष कायस्थले सीमित स्रोतसाधनका बाबजुद त्रिशूली अस्पतालले नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा सेवा अझ प्रभावकारी र प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्