आज र भोलि भारी वर्षा र चट्याङको सम्भावना, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं,असार १६ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान र डुबानको जोखिम उच्च रहनेछ।
प्राधिकरणले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका बस्ती र आकस्मिक बाढी आउन सक्ने स्थानमा अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानको पूर्वतयारी गर्न अनुरोध गरेको छ। डुबानको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सर्न, परिवार तथा छिमेकीलाई समयमै जानकारी दिन र सुरक्षित आश्रयस्थलको व्यवस्था गर्न पनि सुझाव दिइएको छ।
विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन तथा जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न प्राधिकरणले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर सतर्क रहन अनुरोध गरेको छ। साथै वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न तथा आपत्कालीन सहयोगका लागि ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बर सुरक्षित राख्न पनि आग्रह गरिएको छ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने भएकाले जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न प्राधिकरणले सबै नागरिकसँग अनुरोध गरेको छ।

