वैदेशिक रोजगारीमा मृत्यु हुने नेपालीको संख्या चिन्ताजनक, ११ महिनामै १,४३८ श्रमिकको ज्यान गयो
काठमाडौँ, असार १६ – वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकको मृत्यु हुने क्रम चिन्ताजनक रूपमा बढिरहेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मात्रै एक हजार ४३८ नेपाली श्रमिकको विदेशमा मृत्यु भएको छ। यो तथ्याङ्कअनुसार दैनिक औसतमा चार जना नेपालीको शव स्वदेश फर्किने गरेको छ।
वैदेशिक रोजगार बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारले बोर्डको कल्याणकारी कोषबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ आर्थिक सहायता पाउने व्यवस्था छ। चालु आर्थिक वर्षमा मृतक श्रमिकका परिवारलाई कुल १४ अर्ब ३८ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरिएको छ।
यसै अवधिमा विदेशमा अङ्गभङ्ग भएका ९६० जना श्रमिकले सात करोड ६० लाख रुपैयाँ सहायता प्राप्त गरेका छन्। बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि चालु आवको जेठसम्म वैदेशिक रोजगारीका क्रममा १६ हजार ३०० नेपालीले ज्यान गुमाइसकेका छन्। साउदी अरब, कतार र मलेसियामा सबैभन्दा धेरै नेपाली श्रमिकको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।
चालु आर्थिक वर्षको ११ महिनामा सात लाख २२ हजार ८४१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। उनीहरूले गएको वैशाखसम्म नेपालमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ विप्रेषण पठाएका छन्।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक चन्द्रबहादुर शिवाकोटी ले आर्थिक सहायता पाउने मापदण्ड फराकिलो बनाइनु र सेवा अनलाइनमार्फत उपलब्ध गराइएकाले सहायता लिने परिवारको संख्या बढेको बताउनुभयो।
श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपाल ले विदेशमा हुने श्रमिकको मृत्युको अवस्था स्वाभाविक नभएको उल्लेख गर्दै मृत्युका कारणबारे गहन अध्ययन आवश्यक रहेको बताउनुभएको छ।विज्ञहरूका अनुसार कार्यस्थल दुर्घटना, सडक दुर्घटना तथा सुतेकै अवस्थामा हुने आकस्मिक मृत्यु वैदेशिक रोजगारीका क्रममा हुने मृत्युका प्रमुख कारण हुन्। पर्याप्त सीप, तालिम, स्वास्थ्य परीक्षण र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न नसक्दा नेपाली श्रमिकले विदेशमा ज्यान गुमाइरहनुपरेको उनीहरूको भनाइ छ।

