‘रोमियो–जुलियट क्लज’सहित मुलुकी अपराध संहिता संशोधन प्रस्ताव
काठमाडौँ, असार १६ – सरकारले मुलुकी अपराध संहिता संशोधन गर्दै विवाहको उमेर नपुगेका दुई व्यक्तिबीच प्रेमसम्बन्धका आधारमा आपसी मञ्जुरीमा भएको करणीलाई न्यूनतम सजाय दिने व्यवस्था प्रस्ताव गरेको छ। ‘रोमियो–जुलियट क्लज’ नाम दिइएको प्रस्तावअनुसार उमेरको अन्तर दुई वर्ष वा कम भएमा अधिकतम एक वर्षसम्म मात्र सजाय हुने व्यवस्था गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक गरेको विधेयकको मसौदामा विवाहको कानुनी उमेर २० वर्ष यथावत् राखिएको छ। साथै १८ वर्ष पूरा भई २० वर्ष नपुगेका व्यक्तिले सहमतिमा विवाह गरी अलग बस्न चाहेमा निश्चित अवस्थामा मुद्दा नचलाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
संशोधन प्रस्तावमा बहुविवाहसम्बन्धी व्यवस्था परिमार्जन, १० वर्षभन्दा कम उमेरमा सजाय नहुने प्रावधानलाई १२ वर्ष बनाउने, केही अवस्थामा गर्भपतनसम्बन्धी व्यवस्था सहज बनाउने तथा निर्दोष सहयोगी वा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी गराइएका कसुरमा योजनाकारलाई नै जिम्मेवार ठहर गर्ने प्रावधान पनि समावेश गरिएको छ ।

