यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते



कपिलवस्तु, असार १६ — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक हरीसिंह महरासहित २२ जना यात्रु घाइते भएका छन्।घाइतेहरूको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकमा दुवैतर्फको यातायात सञ्चालनमा आएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्