काभ्रेमा बर्डफ्लुका कारण ४० हजारभन्दा बढी हाँस–कुखुरा नष्ट



काभ्रे, असार १६ — काभ्रेपलाञ्चोकमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।

जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही हप्तादेखि व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएपछि संक्रमित हाँस तथा कुखुरा नष्ट गरिएको हो।

कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि नियन्त्रणका लागि संक्रमित पक्षी नष्ट गरिएको हो।

उहाँले मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष रहेको बताउनुभयो। सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा कुखुरा ओसारपसारमा कडाइ गरिएको पनि उहाँले जानकारी दिनुभयो।

प्रयोगशालाको परीक्षण नतिजा ढिलो प्राप्त हुँदा प्रदेश र स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसकेको र त्यसले सङ्क्रमण बढाउन भूमिका खेलेको जनाइएको छ।

जिल्ला पशु सेवा कार्यालयले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्न, खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, सरसफाइमा विशेष ध्यान दिन तथा कुखुरा ओसारपसार गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न किसानलाई आग्रह गरेको छ।

यस्तै, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिनाको तथा अवैध रूपमा हुने कुखुरा ओसारपसारमाथि निगरानी र नियन्त्रणलाई थप कडा पारिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्