विद्युतीय गाडी दुर्घटनामा ६ जना घाइते
मकवानपुर,असार १६– पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक मङ्गलवार दिउँसो विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्।
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०४६९ नम्बरको विद्युतीय गाडी जङ्गली जनावरले बाटो काटेपछि चिप्लिएर सडकको बायाँतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गाडीमा चालकसहित आठ जना सवार रहेकामा छ जना घाइते भएका छन्। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
दुर्घटनापछि गाडीका चालक काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० निवासी ५६ वर्षीय दिलीप सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबाट गाडीमा क्षति पुगेको भए पनि राजमार्गमा सवारी आवागमन भने प्रभावित नभएको प्रहरीले जनाएको छ।

