आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ
बाँके,असार १६– आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा बाँके प्रहरीले कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बेलुका २६ वर्षीय मनोज चौधरीको हत्या गरी शव नहरमा फालेर फरार भएका विनोदलाई भारततर्फ भाग्न लागेको अवस्थामा कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाका अनुसार पक्राउ परेका विनोदलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा कुटपिटपछि मनोजको हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ। पक्राउ परेका विनोदको म्याद थप गरी अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

