आर्थिक रूपान्तरणमा केन्द्रित कूटनीतिमा सरकारको जोड : परराष्ट्रमन्त्री खनाल



काठमाडौँ,असार १६ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीति मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान दिनेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ। उहाँले वर्तमान सरकारले प्रभावकारी, परिणाममुखी र विकासमुखी कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित ‘प्रा. यदुनाथ खनाल व्याख्यान शृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै मन्त्री खनालले विश्वमा प्रमुख शक्तिहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको र आर्थिक साधन, आपूर्ति शृङ्खला तथा महत्त्वपूर्ण पूर्वाधारले अन्तर्राष्ट्रिय सम्बन्धमा बढ्दो प्रभाव पारिरहेको उल्लेख गर्नुभयो। उहाँले बहुपक्षीय प्रणाली चुनौतीमा रहे पनि सहकार्य, प्रविधि, सम्पर्क सञ्जाल र आर्थिक साझेदारीका नयाँ अवसरहरू सिर्जना भइरहेको भन्दै नेपालले परिवर्तनशील विश्व परिवेशलाई आत्मविश्वास र विवेकका साथ सामना गर्नुपर्ने बताउनुभयो।

मन्त्री खनालले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशील, असंलग्नता तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले असंलग्नतालाई निष्क्रियता नभई राष्ट्रिय हितलाई केन्द्रमा राखेर सक्रिय र सन्तुलित कूटनीतिक संलग्नता गर्ने नीति भएको स्पष्ट पार्नुभयो।

उहाँले जनताको विकास, समृद्धि र रोजगारीप्रतिको अपेक्षा पूरा गर्न परराष्ट्र नीतिले पनि प्रत्यक्ष योगदान गर्नुपर्नेमा जोड दिँदै सरकारले सुशासन र तीव्र आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभयो। विशेषगरी युवापुस्ताले परिणाममुखी शासन, अवसर र जवाफदेही संस्थाको अपेक्षा गरेको उहाँको भनाइ थियो।

भूराजनीति नेपालका लागि स्थायी यथार्थ भए पनि प्रत्येक विषयलाई केवल भूराजनीतिक दृष्टिकोणबाट मात्र हेर्न नहुने मन्त्री खनालले बताउनुभयो। नेपालको भौगोलिक अवस्थिति व्यापार, लगानी, सम्पर्क सञ्जाल र क्षेत्रीय सहकार्यका अवसरले भरिपूर्ण रहेको उल्लेख गर्दै उहाँले भारत र चीनसँगका हालैका कूटनीतिक भेटवार्ता व्यावहारिक सहकार्य र पारस्परिक हितमा केन्द्रित रहेको जानकारी दिनुभयो।

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, सम्मान र कल्याण सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै उहाँले लाखौँ नेपालीले विदेशमा काम गर्दै नेपालका साथै सम्बन्धित मुलुकको अर्थतन्त्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परिवर्तनशील भूराजनीतिक तथा भूआर्थिक परिवेशमा नेपालको परराष्ट्र नीतिका अवसर र चुनौतीबारे मुख्य वक्तव्य दिनुभएको थियो। यस वर्षको व्याख्यानको विषय ‘नेपालको परराष्ट्र नीति : भूराजनीतिक तथा भूआर्थिक प्रवृत्तिहरूबीच मार्गनिर्देशन’ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्