चलचित्र उद्योगलाई बलियो बनाउन सरकार प्रतिबद्ध, उद्योगमैत्री ऐन ल्याइने
काठमाडौँ, असार १६ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै उद्योगलाई सुदृढ बनाउन आवश्यक कानुन, नीति र कार्यक्रम ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने उद्योगमैत्री ऐन निर्माण गरिने बताए। संसद्मा विचाराधीन चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीको सुझाव समेटेर अन्तिम रूप दिइने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डले उद्योगको अभिभावकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गर्दै बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र क्षेत्रलाई लाभ पुग्ने गरी केन्द्रित हुनुपर्ने बताए। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि चलचित्रकर्मीको भावना र आवश्यकतालाई प्राथमिकता दिन उनले आग्रह गरे।
उनले नेपाली चलचित्र उद्योग कठिन परिस्थितिका बाबजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्रकर्मीको योगदानलाई दिए। साथै चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित अध्ययन तथा प्रकाशनलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले वरिष्ठ चलचित्रकर्मीका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुने र बोर्डले संस्थागत विकास, प्रविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिका कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गरे।

