स्कुल बसको ठक्करबाट ५ वर्षीया बालिका र सहचालकको मृत्यु



सिरहा, असार १६— सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।

मंगलबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसका सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी–२ पर्सामा बस्दै आएकी ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ। फरार रहेका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्