इन्धनमा ठूलो राहत: पेट्रोल २०, डिजेल ३० र ग्यास १०० रुपैयाँ सस्तो



काठमाडौं, असार १७ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएको छ। नयाँ मूल्य बुधबार राति १२:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ।

नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्य पनि घटेर आएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

नयाँ मूल्य समायोजनसँगै सर्वसाधारण उपभोक्ताले पेट्रोलियम पदार्थको खर्चमा केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्