बजार अनुगमन कडा बनाउन गृहको निर्देशन, दुई खानेपानी उद्योग सिल
काठमाडौं,असार १७ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन, खाद्य स्वच्छता, नागरिक स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिता प्रभावकारी बनाउन विशेष निर्देशन दिएको छ।
मन्त्रालयले होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छताको नियमित, सघन तथा आकस्मिक अनुगमन गरी कानुन उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएको हो। साथै प्रत्येक जिल्ला प्रशासन कार्यालयमा गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गरी नागरिकका गुनासो स्थानीय स्तरमै समाधान गर्न पनि भनिएको छ।
यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा गम्भीर कमजोरी भेटिएपछि ललितपुरका दुई खानेपानी उद्योग सिलबन्दी गरेको छ। विभागले उत्पादन प्रक्रिया, सरसफाइ र लेबलिङमा त्रुटि भेटिएपछि उद्योग सुधार र प्रयोगशाला प्रतिवेदन नआउन्जेल सञ्चालन रोकिएको जनाएको छ। साथै नेपाल ल क्याम्पसको क्यान्टिनमा पनि उजुरीका आधारमा आकस्मिक अनुगमन गरिएको छ।

