एकीकृत विपत् व्यवस्थापन संयन्त्र उच्च तयारीमा
काठमाडौँ, असार १७ — मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले देशभर एकीकृत विपत् व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखेको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २६ हजार २१९ प्रशिक्षित सुरक्षाकर्मी खोज, उद्धार र राहतका लागि २४सै घण्टा तयारीमा छन्। केन्द्रदेखि स्थानीय तहसम्म आपत्कालीन कार्यसञ्चालन केन्द्र र मनसुन प्रतिकार्य कमान्ड पोस्ट सञ्चालनमा राखिएका छन्।
यस वर्ष मनसुनका कारण ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। गृह मन्त्रालयले खोज, उद्धार, राहत व्यवस्थापन र आवश्यक स्रोतसाधनको पूर्वतयारी पूरा गरिएको जनाएको छ। साथै स्वास्थ्य, खाद्य आपूर्ति, सडक मर्मत, हवाई उद्धार र अन्य अत्यावश्यक सेवाका लागि सम्बन्धित निकायलाई जिम्मेवारी तोकिएको छ।

