देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार १७ : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार भएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि देशभर पूर्ण बदली रहने तथा पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

