सञ्चालनमा आयो ‘कुकुर होस्टेल’, बेवारिसे कुकुरको दिगो व्यवस्थापन सुरु



गलकोट, असार १७ – बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरको दिगो व्यवस्थापनका लागि ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। बागलुङ बजारमा छाडा कुकुरका कारण बढ्दो समस्या समाधान गर्न नगरपालिकाले आवासीय सुविधासहित होस्टेल स्थापना गरी पहिलो चरणमा २० वटा बेवारिसे, बिरामी तथा अशक्त कुकुरको उद्धार गरेको हो।

नगरपालिका–३ सिम्लेमा पाँच रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको होस्टेलमा ५० वटा कुकुर राख्न सकिने क्षमता रहेको छ। नगरपालिकाको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ गरी करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको होस्टेलमा कुकुरको हेरचाहका लागि कर्मचारी, खानपान तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ।

नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सामुदायिक कुकुरको बन्ध्याकरणसँगै छाडा कुकुरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले होस्टेल सञ्चालन गरिएको बताउनुभयो। घरपालुवा कुकुर बिरामी भएपछि सडकमा छोड्ने प्रवृत्तिका कारण यात्रुहरूलाई टोक्ने तथा दुर्घटनाको जोखिम बढेकाले यस्तो व्यवस्था गरिएको उहाँको भनाइ छ।

यससँगै नगरपालिकाले घरपालुवा कुकुरको दर्ता अनिवार्य गरेको छ। कुकुरको पहिचान, खोप तथा औषधोपचारको व्यवस्था मिलाइएको छ भने दर्ता भएका कुकुर सडकमा भेटिए घरधनीलाई जिम्मेवार बनाइने जनाइएको छ। कुकुर दर्ताका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्