साउनभित्र २ लाख १० हजार मेट्रिकटन रासायनिक मल ल्याइँदै



काठमाडौँ, असार १७ — कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया अघि बढाएको जनाएको छ।

सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुने ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।

त्यस्तै, अन्तरराष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत एक लाख ८० हजार मेट्रिकटन रासायनिक मल आयात गरिनेछ। यसमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया रहेको मन्त्रालयले जनाएको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा मलको उपलब्धता प्रभावित भए पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन सरकारले यस वर्ष हालसम्मकै बढी परिमाणमा रासायनिक मल आयात गर्ने लक्ष्य लिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भएमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ वा क्युआर कोडमार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्